ओलीले राष्ट्रियसभा निर्वाचनमा हार स्वीकार गरिसके : माधव नेपाल

तु खबर संवाददाता
२०७८ पुष २३, शुक्रबार १७:०३
file-photo

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा हार स्वीकार गरिसकेको बताएका छन् । पार्टीको काठमाडौं महानगर कमिटीले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।

एमाले अध्यक्ष ओलीले शुक्रबार पार्टीका जिल्लाहरुको अधिवेशन उद्घाटनका क्रममा ‘राष्ट्रियसभा निर्वाचनको परिणाम आफ्नो पार्टीका लागि प्रतिकूल आउन सक्ने’ बताएका थिए । सोही भनाईलाई उदृत गर्दै अध्यक्ष नेपालले ओलीले आफ्नो दम्भी स्वभाव विपरित राष्ट्रियसभाको निर्वाचनमा आफ्नो पार्टीको पराजय निश्चित छ भनेर भाषणमै स्वीकार गरेको टिप्पणी गरे ।

उनले ओलीले देशभर एकसाथ जिल्लाहरुको अधिवेशन उद्घाटन गरेर नयाँ नेतृत्व स्थापित हुन नदिएको आरोप समेत लगाए । जिल्ला जिल्लामा गरेको भए नेताहरु जाने, सम्बोधन गर्ने अवसर हुने र त्यसले नेतृत्व स्थापित हुने अध्यक्ष नेपालको भनाई थियो । तर, त्यो पद्धति ओली समूहमा नरहेको उनको भनाई छ ।

अध्यक्ष नेपालले जनताको जीवन परिवर्तन गर्नका लागि आफ्नो पार्टी स्थापना गरेको बताए । उनले जनताको जीवनमा परिवर्तन ल्याउने गरी आचरण र व्यवहार देखाउन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशनसमेत दिए ।