पूर्व मुख्यमन्त्री शेरधन राइले फिर्ता गरे सरकारी गाडी

तु खबर संवाददाता
२०७८ पुष १७, शनिबार १२:१५

काठमाडौँ । प्रदेश नम्वर १ का पूर्व मुख्यमन्त्री शेरधन राईले पदमुक्त भएको ४ महिनापछि सरकारी गाडी फर्ता गरेका छन् । चार महिना अघि मुख्यमन्त्रीबाट हटे पनि सरकारी सेवा सुविधा उपभोग गर्दै आएका उनको तीव्र आलोचना भएपछि गाडी फिर्ता गरेका हुन् । उनले काठमाडौंमा गाडी फिर्ता गरेको प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले पुष्टि गरे ।

मुख्यमन्त्रीको पदावधि सकिएपछि सेवा सुविधाको विषयमा प्रदेश सरकारले अहिलेसम्म कुनै कानुन बनाएको छैन । कानुनमा नै नभएको सेवा सुविधा राईले ४ महिना प्रयोग गरे । राईले गत भदौमा मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । उनले को १ झ ५६५ नम्बरको गाडी प्रयोग गर्दै आएका थिए । राईकै कार्यकालमा काठमाडौंमा सम्पर्क कार्यालय खोलिएको थियो ।

सम्पर्क कार्यालय खोलिएको विषयमा चर्को विरोध भएपछि निवर्तमान मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारले कार्यालय हटाएको थियो । वर्तमान मुख्यमन्त्री राजेन्द्र राईले सम्पर्क कार्यालयका फर्निचर सरकारी निवासमा राखेका छन् ।