आजको मौसमः धेरै स्थानमा वर्षा र हिमपात
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । मंगलबार देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागहरूका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
सुदूर पश्चिम र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन महाशाखाको अनुरोध छ । यस्तै, बुधबार देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बुधबार उच्च पहाडी तथा हिमाली भू–भागहरूका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । त्यस्तै, बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागहरूका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
