एमसीसीबारे पुस १७ पछि निर्णय हुने
काठमाडौं । सत्ता गठबन्धनका नेता प्रचण्डले राष्ट्रिय बहसको विषय बनेको अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे पुस १७ गतेपछि मात्रै निर्णय हुने बताएका छन् । एमालेले संसद अवरुद्ध पारिरहे एमसीसी प्रकरण अझै केही समय पछि धकेलिने भन्दै उनले तीन सदस्यीय कार्यदलको बैठक पुस १७ गते बस्ने र त्यसले सकारात्मक समाधान निकाल्ने आशा व्यक्त गरेको बताएका हुन् ।
उनले काठमाडौंमा शनिबार पत्रकारसँगको अन्तरक्रियामा भने, ‘फेरि एकचोटि सबै डकुमेन्ट हेरौं, कहाँ–कहाँ हो त करेक्सन नगरी नहुने, त्यो पत्ता लगाऔं भनेर कमरेड नारायणकाजी श्रेष्ठ, कमरेड झलनाथ खनाल र माननीय मन्त्री ज्ञानेन्द्रबहादुर कार्की तीनजनाको कार्यदल हामीले बनाएका छौं । उहाँहरु एकचोटि बसिसक्नुभो । डकुमेन्ट संकलन गर्दै हुनुहुन्छ । फेरि १७ गते बैठक बस्दै हुनुहुन्छ । त्यहाँबाट आउँछ ।’
एमालेले संसद अवरुद्ध पारिरहेको सन्दर्भ कोट्याउँदै प्रचण्डले यो विषय अझै केही समय पछि पनि सर्न सक्ने बताए । उनले भने, ‘हामीलाई एमसीसीको बारेमा फाइनलमा पुग्न अझै केही समय लाग्न सक्छ । किनभने, प्रमुख प्रतिपक्षले सदन अवरोध गर्दा पनि गाह्रो छ टेक्निकल रुपमा । त्यहाँ पनि म्यानेज गर्नुपर्ने छ ।’ तर, एमसीसीकै कारण गठबन्धन टुटाउन खोज्ने विपक्षीको रणनीति भने सफल नहुने प्रचण्डको दाबी छ ।
