आज यी स्थानमा हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले तराईका भू–भागहरुमा बिहानको समयमा हुस्सुकुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाले आज देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले आज देशको पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ र बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।
यसैगरी, आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । यस्तै, राति पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
