आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौँ । सरकारले पुस ४ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार पर्ने उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवश(धान्यपूर्णिमा)को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका उपसचिव बसन्त भट्टराईले सूचना जारी गरी बिदा बारे जानकारी गराएका छन् । पुस १ गते बसेको मन्त्रिपरिषद् बैठकले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । त्यस्तै मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले तीन जना नेपालीको नागरिकता रद्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सन्दीपचन्द्र बानियाँ, सुदीपचन्द्र बानियाँ र आत्माराम कुर्मीको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी नेपाली नागरिकताबाट हटाउने निर्णय गरेको हो । यस्तै, बैठकले नेपाल राजस्व परामर्श विकास समिति सदस्य निर्मलहरी अधिकारीको राजीनामा स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।
बैठकले कोभिड–१९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्वतयारी परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने १८ मिलियन अमेरिकी डलर थप ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन निर्णय गरेको प्रवक्ता कार्कीले बताए । त्यस्तै, विनोदकुमार भट्टराईलाई नेपाल न्याय सेवा कानून समुहको राजपत्रांकित प्रथम श्रेणी र रामप्यारी सुनुवारलाई नेपाल न्याय सेवा न्याय समुहको राजपत्रांकित प्रथम श्रेणीको पदमा नियुक्ती गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।
