आज कांग्रेस उपसभापति पदको मात्र मतगणना हुने
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बुधबार उपसभापति पदको मात्र मतगणना हुने भएको छ । पार्टी कार्यालय सानेपामा अपरान्ह ४ बजेपछि मतगणना हुने निर्वाचन समिति सदस्य सीताराम केसीले जानकारी दिए ।
उपसभापति पदको मतगणना सकिएपछि मात्र महामन्त्रीको गणना हुने उनको भनाई छ । कांग्रेसमा सभापति पदको नतिजा भने यसअघि नै आइसकेको छ । मंगलबार राति सार्वजनिक मत परिणाम अनुसार सभापतिमा २ हजार ७ सय ३३ मत ल्याएर शेरबहादुर देउवा निर्वाचित भएका छन् । सभापति पदका अर्का उम्मेदवार शेखर कोइरालाले १ हजार ८ सय ५५ मत प्राप्त गरेका थिए ।
गत मंसिर २४ गतेबाट काठमाडौंमा सुरु भएको कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि २७ गते मतदान भएको थियो । पहिलो चरणको निर्वाचनमा सभापति पदका पाँच प्रतिस्पर्धीमध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि सबैभन्दा बढी मत ल्याएका दुई उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच मंगलबार पुनः दोस्रो चरणको निर्वाचन भएको थियो । दोस्रो चरणको निर्वाचनमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा सभापतिमा निर्वाचित भएका हुन् । निर्वाचन समितका अनुसार, आगामी पुस ५ गतेभित्र सबै मत परिणाम सार्वजनिक हुनेछ ।
