केन्द्रीय सदस्यमा शशांक कोइरालाको उम्मेद्वारी

तु खबर संवाददाता
२०७८ मंसिर २५, शनिबार १६:०८

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान महामन्त्री डा.शशांक कोइरालाले केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गराएका छन् । डा. शेखर कोइरालाको प्यानललाई समर्थन गर्दै शशांकले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् । १२ औं महाधिवेशनबाट महामन्त्री निर्वाचित शशांक सभापतिकै दावेदार थिए । तर, उनले शेखरलाई समर्थन गरेका छन् । शशांक भन्दा अगाडि शेखरलाई समर्थन गर्दै अर्जुननरसिंह केसी, बलबहादुर केसी र रामशरण महतले केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गराएका छन् ।

पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आज बिहान १० देखि बेलुका ५ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ । हालसम्म अध्यक्ष पदमा एक जनासहित ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन समितिका अनुसार शनिबार उम्मेदवारहरूले दिनभर मनोनयन दर्ता गर्न पाउनेछन् । अध्यक्ष पदमा कल्याण गुरुङले उम्मेदवारी गराएका छन् भने दुई उपसभापति र दुई महामन्त्रीका लागि हालसम्म कसैको उम्मेदवारी परेको छैन । आठ सहमहामन्त्रीका लागि भने हालसम्म मानबहादुर विक, बद्री पाण्डे र फरमुल्ला मन्सुरले उम्मेदवारी दर्ता गरेका छन् । उनीहरुले क्रमशः दलित, पिछडिएको क्षेत्र र मुसलमान कलस्टरबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

खुलातर्फ ३५ केन्द्रीय सस्दयमा हालसम्म मदनबहादुर अमात्य, लक्ष्मणबहादुर बस्नेत, जिपछिङ लामा, तरुण दलका अध्यक्षसमेत रहेका जितजंग बस्नेत र रवीन्द्रमान श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । दलित कलस्टरका नौ केन्द्रीय सदस्य पदमा सुजाता परियार, अमरबहादुर बराइली, मैकलाल बाल्मिकी र पवित्रा विश्वकर्माले उम्मेदवारी दर्ता गराइसकेका छन् ।

मधेशी कलस्टरबाट नौ पदमा सकलदेव सुतियार, अनितकुमार झा, अञ्जनीकुमार झा, अजय द्विवेदी र मिथिलेश मिश्रले उम्मेदवारी दर्ता गरेका छन् । सात प्रदेशबाट महिलासहित निर्वाचित हुने २१ जनाका लागि कर्णालीबाट जानकी शाह, कर्णबहादुर बुढा र दिनबन्धु श्रेष्ठले सदस्य पदमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।

खसआर्य कोटाबाट ६ महिलासहित १३ जना निर्वाचित हुने सदस्य पदका लागि रामकृष्ण घिमिरे, खिलानाथ दाहाल, ईश्वरबहादुर मल्ल, कृष्णप्रसाद कोइराला, दिपेशप्रसाद भट्ट, अच्चुतप्रसाद गुरागाईं र जगतप्रसाद जोशीले उम्मेदवारी दर्ता गरेका छन् । अपांगता एक कोटाका लागि डेकराज भट्टराई, गोपालबहादुर देउवा र तिलप्रसाद सुब्बाको उम्मेदवारी परेको छ ।