‘देउवाजी प्रधानमन्त्री मात्र होइन, सरकारको नेता हुनुहोस्’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमात्र नभएर सरकारको नेता बन्न सुझाव दिएका छन् । शुक्रबार कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् ।
कांग्रेसले सबैलाई साथ लिएर हिँडेमा आफ्नो कुनै पनि आपत्ति नरहने उनले बताए । उनले भने, ‘तर, अरुका नीतिको पछाडि होइन, आफ्नो नीतिमा हिँडोस् । शेरबहादुर देउवाजी प्रधानमन्त्री मात्र होइन, सरकारको नेता हुनुहोस् ।’ उनले राष्ट्रियता, देशको विकास, जनताका हितका पक्षमा नेपाली कांग्रेसलाई एमालेले पनि साथ दिने प्रस्ट पार्दै केही साना दललाई भने कांग्रेसले औँला छोड्ला कि भन्ने चिन्ता लागेर ‘सँगै जानुपर्छ’ भनिरहेको बताए ।
