ओलीको दिन सकियो : माधव नेपाल

तु खबर संवाददाता
२०७८ मंसिर २१, मंगलवार १७:१७
file-photo

सुनसरी । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अब नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एण्ड कम्पनीको दिन सकिएको बताएका छन् । सोमबार सुनसरीको इटहरीमा आयोजित प्रदेश १ को पार्टीस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।

ओलीले एमालेलाई नारायणी नदीमा तिलाञ्जली दिइसकेको टिप्पणी गर्दै अध्यक्ष नेपालले एमाले भित्र पार्टीको झण्डा बाँदरले बोक्नु पर्ने दिन आउने र अब ओली एण्ड कम्पनीको दिन सकिएका बताएका हुन् । उनले पार्टीको झण्डा उठाउन मजदुर किसान नचाहिने भएकाले गैंडालाई थमाइएको समेत बताए ।

एमाले पार्टी ओलीको निजी कम्पनी भएको बताउँदै उनले एमालेभित्र रहेका नेताहरुको हविगत निल्नु न ओकल्नुको अवस्थामा पुगेको बताए । अबका दिनमा ओलीले राप्रपा, एमाले र लोकतान्त्रिक समाजवादीसँग एकता गर्ने उनको भनाई छ । अध्यक्ष नेपालले एमाले भन्दा आफ्नो पार्टी देशभर मजबुत बन्दै गएकोसमेत दाबी गरे । उनले गठबन्धनको सरकारमा सहभागि दलकाअघि ओलीको केही नलाग्ने ठोकुवा समेत गरे ।