एमालेको दोस्रो बैठक जर्मन पार्टी प्यालेसमा बस्ने
काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको दोस्रो बैठक भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा बस्ने भएको छ । यही मंसिर २५ र २६ गते बस्ने बैठक भक्तपुरस्थित जर्मन हाउस पार्टी प्यालेसमा बस्ने भएको पार्टी सचिव पद्मा अर्यालले जानकारी दिइन् । उनका अनुसार, सो बैठक बिहान ११ बजे बस्ने भएको हो ।
बैठकको मिति चितवनस्थित दशौं राष्ट्रिय महाधिवेशन हलमै अध्यक्ष ओलीले घोषणा गरेका थिए । स्थान भने मंगलबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा बसेको महासचिव तथा सचिवहरूको बैठकले तय गरेको हो । महाधिवेशनपछिको पहिलो बैठक भने चितवनको सौराहामै बसेको थियो ।
एमालेले महाधिवेशन अघिसम्म केन्द्रीय कमिटीलगायतका बैठक च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा राख्दै आएको थियो । महाधिवेशनपछि केन्द्रीय कमिटीको संख्या बढेर ३०१ भएपछि च्यासलमा स्थान अभाव हुने भएकाले बैठक भक्तपुरमा बस्न लागेको सचिव योगेश भट्टराईले जानकारी दिए ।
