‘कांग्रेसको निष्ठा र आदर्शलाई कसरी कायम राख्न सकिन्छ भन्नेमा चिन्तित छु’

तु खबर संवाददाता
२०७८ मंसिर २१, मंगलवार १६:०१

जगदिश्वर नरसिंह केसी, यो नाम नुवाकोटमा मात्र होइन, लामो राजनीतिक जीवन भएकाहरुबीच अन्यत्र पनि चर्चित नाम हो । राजनीतिक रुपमा लामो यात्राका एक यात्री हुन् केसी । २०३६ सालतिर, मुलुकमा पञ्चायती व्यवस्था थियो । तत्कालिन शासकहरुबाट जनतामाथि शोषण र दमन व्यापक थियो । त्यस्तो निरंकुश शासन व्यवस्थाका कारण समाजका सबै क्षेत्र आक्रान्त थियो, मारमा थियो । नेपाल विद्यार्थी संघले तत्कालिन निरंकुश व्यवस्थाका विरुद्धमा आन्दोलन घोषणा गरेको थियो । त्यतिबेला केसी सानै थिए, तर विद्यार्थीहरुलाई उनी नेतृत्व गर्दथे ।

२०३८ सालमा उनी स्थानीय सरस्वती क्याम्पसको स्ववियू सचिव भए । उतिबेलाको सत्ताले आफ्नाविरुद्ध भएकाहरुलाई झुटा मुद्धा लगाउँथ्यो । पक्राउ गरी यातना दिन्थ्यो । त्यसबेला नेवि संघले गरेका थुप्रै आन्दोलनहरुमा केसी अग्रभागमा थिए । पार्टीको विश्वास जित्दै विद्यार्थी र आम जनताको पक्षमा काम गरेका केसी २०४८ सालमा नेपाल विद्यार्थी संघ (नेवि संघ) को केन्द्रीय सदस्य भए ।

त्यसपछि तत्कालिन जिल्ला विकास समितिको पटक/पटक क्षेत्रीय सदस्य भई कुसलतापूर्वक जिम्मेवारी सम्हालेका उनी २०५४ सालमा पहिलोपटक नेपाली कांग्रेस नुवाकोटको सभापति निर्वाचित भए र लगातार ४ पटकसम्म सभापतिकै रुपमा नेतृत्व सम्हाले । २०६२/०६३ को जनआन्दोलनपछि २०६४ को निर्वाचनमा उनी संविधानसभा सदस्य निर्वाचित भए । २ पटकसम्म उनले संविधानसभामा प्रतिनिधित्व गरे ।

नुवाकोटको राजनीतिमा केसीको भूमिका आजसम्म पनि धेरैले सम्झन्छन् । करिब ४ दशक देखि राजनीतिमा क्रियाशील जीवन विताएका उनी नुवाकोटका सबै राजनीतिक दलसँग समन्वय गर्न सक्ने खुशी भएका नेताका रुपमा परिचित छन् । राजनीतिक, सामाजिक एवम् आर्थिक क्षेत्र सबैमा विश्वासिलो व्यक्तित्वको रुपमा परिचित भएकै कारण उनको धारणालाई अन्य दलहरुले समेत अर्थपूर्ण रुपमा लिने गरेका छन् । बरिष्ठ नेता रामचन्द्र पौडेलसँग निकट रहेका उनी कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीको सहोदर भाई हुन् ।

कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत हेटौंडामा भएको अधिवेशनमा बागमती प्रदेशको प्रत्यासीसमेत रहेका उनी जितहार एउटा स्वभाविक प्रक्रिया भएको बताउँछन् । उयनी भन्छन् ‘कांग्रेस लोकतान्त्रिक पार्टी हो, नेतृत्वको लागि हामी प्रतिस्पर्धा गर्छौँ । परिणाम जे आएपनि हामी स्वीकार्छौँ र एकअर्कासँग समन्वय गरी पार्टीलाई मजबुद बनाउँदै अघि बढ्छौँ ।’ उनै केसीसँग तु खबरले गरेको कुराकानीको सम्पादित अँश ।

प्रश्न: कांग्रेस बागमती प्रदेशको निर्वाचनमा झिनो मतले पराजित हुनुभयो । समग्रमा निर्वाचनलाई कसरी समिक्षा गर्नुहुन्छ ?

उत्तरः धन्यवाद । हामीले पहिलो पटक संघीय तहको बागमती प्रदेशको अधिवेशन सम्पन्न गरेका छौँ । यो निर्वाचनमा बागमती प्रदेश भित्र र बाहिर रहेर सहयोग गर्ने, सुभेच्छा प्रकट गर्ने, सहानुभूति, माया र सद्भाव देखाउने सबैमा आभार व्यक्त गर्दछु । प्रत्येक्ष रुपमा मत मतदान गर्ने मेरा मतदाताप्रति म सदैव ऋणी नै रहने छु र निर्वाचित सम्पूर्णमा बधाई ज्ञापन गर्दछु ।

यो अधिवेशनबाट मैले अनुभव गरेको कुरा, स्वर्गीय विपी कोइरालाले प्रतिपादन गर्नुभएको सिद्धान्त, आदर्श र निष्ठा समाप्त भएको हो कि भन्ने लागेको छ । यी सिद्धान्तहरु मृत्युशैयामा वा भेन्टिलेटरमा पुगेको हो कि भन्ने अनुभूति भएको छ । यो परिस्थितिलाई प्रत्येक आदर्शवान कार्यकर्ताले सोच्नुपर्ने बेला भएको छ । शक्ति सत्ता र पैसाको आडमा राजनीतिक निष्ठा आदर्श हामीले बेचिरहेका छौँ कि भन्ने विषयमा सबै सचेत हुनुपर्ने बेला आएको छ ।

मत भिभाजनमा गएपछि प्रजातन्त्रवादी पार्टीको कार्यकर्ताले परिणामलाई सहर्ष स्वीकार गरी अघि बढ्नुपर्छ । म अधिवेशनबाट सभापतिको रेसबाट बाहिरिँदा पनि दुःख लागेको छैन । धेरै निष्ठा र आदर्शवान साथीहरुको मत मलाई आएको छ । कांग्रेसको चुरो मत मलाई आएको छ । सत्ता शक्ति र पैसाको मत म भन्दा बाहिर गएको छ । यो अधिवेशन निश्पक्ष र भयरहित अधिवेशन हुन नसकेको हो कि भन्ने पनि मेरो अनुभूति छ ।

यो परिस्थितिलाई जे जस्तो भएपनि आएको निर्णयप्रति मैले हार्दिक सम्मान र स्वागत गर्दछु । आगामी दिनमा म पराजित भएपनि प्रदेश भित्र वा बाहिर अन्य ठाउँमा पनि मप्रति सद्भाव र विश्वास गरेर जो निष्ठा र आदर्शवान् कार्यकर्ता साथीहरुको सहयोग सद्भाव दर्शाउनुभएको छ । त्यसलाई कायम राख्ने प्रयत्न गर्नेछु । हरेक जिल्लाका साथीहरुसंग मिलेर कांग्रेसलाई कसरी बचाउन सकिन्छ, निष्ठा र आदर्शलाई कसरी कायम गर्न सकिन्छ, भन्ने कुरामा चिन्तित छु । र त्यसमा क्रियाशील भई अघि बढ्नेछु । संगठनलाई चुस्त/दुरुस्त, सुदृढ र शुद्धिकरण गर्दै अगाडि बढ्ने क्रममा जित्नेले भन्दा बढी सक्रिय रुपमा संगठन निर्माणमा अग्रसर हुनेछु भन्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

प्रश्न: यो निर्वाचनमा कांग्रेसभीत्रै स्पष्ट तीन वटा धार देखा परे, कांग्रेस आफैँ गुट–उपगुटमा रुमलिएको छ । स्थानीय तहको निर्वाचन पनि आउँदै छ । यसले कांग्रेसलाई असर गर्ला नी ?

उत्तर:  तपाईले सोध्नुभएको जस्तै धेरै कांग्रेसजनमा यो चिन्छा छ । तर, कांग्रेसको केन्द्रीय महाधिवेशन जुन दिनसम्म सकिँदैन त्यसदिनसम्म गुट र समूह कायमै रहनेछ । एउटा लोकतान्त्रिक विधि जिवन्त पार्टीभित्र नेतृत्वको लागि आन्तरिक प्रतिस्पर्धा स्वभाविक कुरा हो । हामीले सहमतिका साथ अघि बढ्न सकेको भए सहमतिबाटै एउटा नेता चयन हुन्थ्यो । केही सहज हुन्थ्यो, तर त्यसो हुन सकेन । नेतृत्वको लागि धेरै साथीहरुको इच्छा र आकाँक्षा रहेको थियो ।

त्यो इच्छा र आकाँक्षाको कारण निर्वाचनबाट नेतृत्व चयन भएको हो । प्रदेशसम्मको निर्वाचन सकियो, केन्द्रको बाँकी छ । प्रदेशमा इन्द्र जी निर्वाचित सभापति, म पराजित सभापति मिलेर प्रदेशको संगठन निर्माण गर्ने हो । आन्तरिक प्रतिस्पर्धाको लागि समूह बनाइएको भएपनि आम निर्वाचनमा हामी सबैले देख्ने भनेको एउटै रुख हो, चारतारे झण्डा हो । आत्मसाथ गर्ने भनेको विपीको विचार नै हो । त्यसलै कहिँ कतै शंका उपशँका गर्नुपर्ने कारण देख्दिन ।

अब हामीले हातेमालो गरेर एकअर्कालाई सहयोग गर्दै बधाई शुभकामना दिँदै आगामी दिनमा मिलेर जानुपर्छ । मिलेर जाने प्रतिवद्धता मैले गरेको छु । मेरो प्रतिवद्धतामाथि जित्ने साथीले त्यहि ढंगबाट अगाडि बढ्नुपर्ने हुन्छ । जसले गर्दा हामीबीचको मनमुटाव हिजोको प्रतिस्पर्धाका तिक्तताहरु सबै समाप्त हुन्छन् । यसले खासै अन्तर राख्छ भन्ने मलाई लाग्दैन ।

प्रश्न : स्थानीय तहको निर्वाचन आउँदैछ । प्रदेशमा कांग्रेसले अन्य दलसँग चुनावी तालमेल गर्ला कि नगर्ला ?

उत्तर:  नेपाली कांग्रेसको एउटा आदर्श छ, शिद्धान्त छ । भोलि जनताको बीचमा एउटा एजेण्डा लिएर अगाडि बढ्नु छ । त्यसकारण अन्य दलको एजेण्डा बोकेर जाँदा जनताले कांग्रेसलाई के भनेर बुझ्छन्, यो कुरा मुख्य कुरा हो । जनताले नेपाली कांग्रेसको सिद्धान्त, एजेण्डा र भावी रणनीति भन्ने कुरा के हो बुझ्नुपर्छ । हामीले कांग्रेसको एजेण्डा लिएर जनतामाझ जाने हो । अब भोलि पार्टीले जे निर्णय गर्छ, त्यो त मैले मान्नैपर्छ ।

म पार्टीको सिपाही हुँ । तर, कुनैपनि दलसंग मिलेर निर्वाचनमा जानु उचित नहोला । कांग्रेस एक्लै जानुपर्छ, कांग्रेस एक्लैले आफ्नो बिचार लिएर जनताको बिचमा मुलुकको लोकतन्त्र र जनताको हितको लागि एजेण्डा लिएर जाने हो एक्लै जानुपर्छ भन्ने मेरो धारणा हो । भ्रम छरेर, झुटा आश्वासन बाँडेर नेतृत्वमा पुग्दै आएको कम्युनिष्टलाई यसपटक जनताले जिताउने छैनन् ।

प्रश्नः अब तपाईको राजनीतिक यात्रा कसरी अघि बढ्छ ?

उत्तर:  हेर्नुस्, म पदमा हुनु र नहुनुमा खासै अर्थ नराख्ने मान्छे हुँ । एक पटकको परिणाम मात्रै निर्णायक पनि हुँदैन । अघि पनि भनेँ, म पार्टीको सिपाही हुँ । पार्टीले जे भन्छ सोही अनुसार अघि बढ्ने हो । पदमा रहेपनि नरहेपनि कांग्रेसजनको पीरमर्कामा शुखदुखमा सँगसँगै हुने हो । निर्वाचित नेतृत्वसँग सहकार्य गर्दै मिलेर अघि बढ्ने हो । पार्टीलाई सुदृढ र मजबुद बनाउँदै अघि बढ्ने हो ।

प्रश्न: अन्तमा के भन्न चाहानुहुन्छ ?

उत्तर: मलाई आफ्ना कुरा राख्नदिने जुन मौका प्रदान गर्नुभयो, त्यसका लागि तपाईको मिडियालाई आभार व्यक्त गर्दछु । मलाई निर्वाचनमा प्रत्येक्ष/ अप्रत्येक्ष रुपमा सहयोग पुर्याउने सबैमा सम्मान व्यक्त गर्दछु । ऋणी रहनेछु । लोकतन्त्र, समाजवाद र संविधानको रक्षा, जुन कांग्रेसको सिद्धान्त छ, त्यसलाई आत्मसाथ गरेर अघि बढ्न सबैलाई हार्दिक अनुरोध गर्दछु, जय नेपाल ।