कांग्रेस बागमती प्रदेश पदाधिकारीको निर्वाचन नतिजा सार्वजनिक, कुन पदमा को भए विजयी ?

तु खबर संवाददाता
२०७८ मंसिर २१, मंगलवार ०८:५५
file-photo

मकवानपुर । गत शनिबार सम्पन्न नेपाली कांग्रेस बागमती प्रदेशको पदाधिकारीको निर्वाचनको नतिजा सार्वजनिक भएको छ । सोमबार राति सम्पन्न मतगणनाअनुसार कांग्रेस बागमती प्रदेश उप–सभापतिमा मोहन बस्नेत र चन्द्र महर्जन विजयी भएका छन् । बस्नेत र महर्जन क्रमशः १ हजार ५९ र १ हजार ३७ मतसहित उपसभापतिमा विजयी भएका हुन् ।

उक्त पदका लागि चार जनाको उम्मेदवारी परेको थियो । उम्मेदवारी परेकामध्ये धर्मराम गौतम १ हजार ४ र राजेन्द्रप्रसाद बुर्लाकोटी ८३९ मत प्राप्त गरी पराजित भएका छन् । यसैगरी, महामन्त्रीमा कन्चन चन्द्र बादे ९९५ र राजु श्रेष्ठ ९१० मतसहित विजयी भएका छन् । सो पदका लागि ६ जनाको उम्मेदवारी परेको थियो । जसमा माइकल रामचन्द्र अर्याल (८९९), तिलकप्रसाद रुवारी (७६०), गौरीप्रसाद दवाडी (१८८) र सुरेश श्रेष्ठ (१६३) मतसहित पराजित भएका छन् ।

यस्तै, महिलातर्फकोे सह–महामन्त्रीमा जीवन डंगोल विजयी भएका छन् । उनी ९४९ मतसहित महामन्त्रीमा विजयी भएका हुन् । सो पदका लागि ३ जनाको उम्मेदवारी परेको थियो । जसमा निर्मला वस्तकोटी (निरु खड्का) ७८६ र मोतिमाया तामाङ २१८ मतसहित पराजित भएका छन् । यसैगरी, खुल्लातर्फको सह–महामन्त्रीमा ऋषिराम घिमिरे र हरिशरण श्रेष्ठ विजयी भएका छन् । उनीहरु क्रमशः ९१६ र ८३९ मतसहित विजयी भएका हुन् ।

उक्त पदका लागि ७ जनाको उम्मेदवारी परेको थियो । जसमा बिरबहादुर तामाङ (८३५), महेन्द्र थिङ (८०१), राजकुमार पाठक (२१७), जगन्नाथ धिमाल (१५४) र जयनारायण सापकोटा (८५) मतसहित पराजित भएका छन् । कांग्रेस बागमतीको सभापतिमा भने इन्द्रबहादुर बानियाँ विजयी भएका छन् ।