कांग्रेस बागमती प्रदेश अधिवेशन: सकियो मतदान, मतगणना आजै
मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत बागमती प्रदेश अधिवेशनमा सभापति पदका लागि मतदान सकिएको छ । हेटौंडा १० वन विज्ञान अध्ययन संस्थान फरेष्टीको मैदानमा स्थापना गरिएको मतदानस्तलमा भर्खरै मतदान सकिएको सहायक निर्वाचन अधिकृत रामकुमार अधिकारीले जानकारी दिएका छन् ।
मतदान प्रक्रिया सकिएको भएपनि कति मत खस्यो भन्ने विषयमा एकिन जानकारी आइनसकेको र सबै मतदान केन्द्रमा खसेको मत संकलनको कार्य तीब्रताका साथ भइरहेको उनले बताए । उम्मेदवारहरुको सहमतिमा केही बेरमा नै मत गणना प्रक्रिया सुरु गरिनेसमेत उनले जानकारी दिए ।
कांग्रेसको बिधानमा सभापतिमा खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान छ । यसअघि शनिबार भएको निर्वाचनमा सभापतिको लागि उम्मेदवारी दिएकामध्ये कसैको पनि ५१ प्रतिशत मत नपुग्दा पुनः मतदान गरेको प्रदेश निर्वाचन अधिकृत केशव प्रसाद काफ्लेले जानकारी दिए ।
शनिबार भएको मतदानमा २ हजार ८३ मत खसेको थियो । सो पदका लागि इन्द्रबहादुर बानियाँ र जयश्वरनरसिंह केसीबीच प्रतिस्पर्धा हुँदैछ । त्यसको लागि आज साँझ ५ बजेसम्मका लागि समय तोकिएको थियो । यसअघि शनिबार भएको निर्वाचनमा इन्द्रबहादुर बानियाँले ९ सय ९२, जगदिश्वर नरसिंह केसीले ८ सय ७७ र भीमसेनदास प्रधानले १ सय ९७ मत प्राप्त गरेका थिए ।
