कांग्रेस बागमती अधिवेशन : सभापतिको लागि १५ सय मत खस्यो
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशको अधिवेशन अन्तरगत सभापति पदका लागि जारी पुनः निर्वाचनमा १ हजार ५०० मत खसेको छ । हेटौंडामा जारी अधिवेशनमा दिउँसो २ बजेबाट सुरु भएको निर्वाचनमा हालसम्म १ हजार ५०० मत खसेको प्रदेश निर्वाचन समितिले जनाएको छ ।
कांग्रेसको बिधानमा सभापतिमा खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान छ । यसअघि शनिबार भएको निर्वाचनमा सभापतिको लागि उम्मेदवारी दिएकामध्ये कसैको पनि ५१ प्रतिशत मत नपुग्दा पुनः मतदान गरेको प्रदेश निर्वाचन अधिकृत केशव प्रसाद काफ्लेले जानकारी दिए । शनिबार भएको मतदानमा २ हजार ८३ मत खसेको थियो ।
सो पदका लागि इन्द्रबहादुर बानियाँ र जयश्वरनरसिंह केसीबीच प्रतिस्पर्धा हुँदैछ । त्यसको लागि आज साँझ ५ बजेसम्मका लागि समय तोकिएको प्रदेश निर्वाचन समितिले जनाएको छ । यसअघि शनिबार भएको निर्वाचनमा इन्द्रबहादुर बानियाँले ९ सय ९२, जगदिश्वर नरसिंह केसीले ८ सय ७७ र भीमसेनदास प्रधानले १ सय ९७ मत प्राप्त गरेका थिए ।
