१९७२ मत गनेर सकियो, इन्द्रबहादुर बानियाँ ९६३ सहित अगाडि
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापतिको मत गणना जारी रहेको छ । वन विज्ञान अध्ययन संस्थान परिसरमा जारी मत गणनाको परिणाम प्राप्त भएको छ । परिणाम अनुसार, हालसम्म १९ सय ७२ मत गनिएको छ । सो मध्ये सभापति उम्मेदवार इन्द्रबहादुर बानियाँले ९ सय ६३ मत प्राप्त गरेका छन् । त्यस्तै जगदिश्वर नरसिंह केसीले ८ सय १२ मत र भीमसेनदास प्रधानले १ सय ८४ मत प्राप्त गरेका छन् । हालसम्मको बदर मतको संख्या १३ रहेको छ ।
सभापतिको मत गणना अन्तिम चरणमा पुगेको छ । २१ सय ५१ जना प्रतिनिधि मध्ये २ हजार ८३ जनाले मतदानमा सहभागिता जनाएका थिए । नेपाली कांग्रेसको विधान बमोजिम सभापतिमा विजयी हुने एक जना उम्मेदवारले कम्तीमा पनि ५१ प्रतिशत मत ल्याउनुपर्ने हुन्छ । यस हिसाबले अब बाँकी रहेको मतले सभापतिमा पुनः मतदान हुनेतर्फ संकेत गरेको छ ।
