कांग्रेसको बागमती प्रदेश अधिवेशन: मतदान परिसरको प्रचार सामग्री हटाइयो
मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत बागमती प्रदेश अधिवेशन हेटौंडामा जारी छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा आज हुन लागेको मतदान प्रक्रियामा सुरक्षा व्यवस्था कडा पारिएको छ । मुल गेटबाटनै सुरक्षाकर्मी परिचालन गरी सुरक्षामा कडाई गरिएको निर्वाचन समितिले जनाएको छ ।
मुलगेटबाट सचिवालयसम्म टाँसिएको प्रचारप्रसारका सामाग्रीहरु हटाइएको छ । सभापति पदको लागि तीन जनाको उम्मेदवारी रहेको छ । विभिन्न १० वटा मतदान केन्द्र बनाएर मतदान गरिने व्यवस्था मिलाइएको छ । बिहान ९ बजेबाट मतदान सुरु हुने भनिए पनि मतपत्र छाप्ने तथा उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गर्न बाँकी रहेको कारण मतदान केही समयपछि मात्रै हुने जनाइएको छ । मुलगेटमा मतदाता मतदान गर्न लामबद्ध भइसकेका छन् । अधिवेशनमा १ हजार २४५ केन्द्रीय महाधिवेशन प्रतिनिधि, ८७६ प्रदेश प्रतिनिधि र १६ केन्द्रीय सदस्य गरी जम्मा २ हजार १३७ जनाले नयाँ नेतृत्व चयनका लागी सहभागीता जनाउँदै छन् ।
