बिहानैदेखि हवाई उडान तथा अवतरण प्रभावित

तु खबर संवाददाता
२०७८ मंसिर १८,शनिबार १०:२८

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान तथा अवतरण प्रभावित बनेको छ । मौसममा आएको बदलीका कारण भिजिबिलिटी कम हुँदा आज बिहानैदेखि अन्तराष्ट्रिय र आन्तरिकको उडान तथा अवतरण प्रभावित बनेको विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । उनका अनुसार, सात वटा जहाजलाई होल्ड गरिएको छ भने एउटा जहाज भारतको लखनउ डाइभर्ट भएको छ ।

भिजिबिलिटी कम भएकाले फ्लाइ दुबईको जहाज लखनउ डाइभर्ट गरिएको प्रवक्ता ठाकुरले बताए । प्रवक्ता ठाकुरका अनुसार आन्तरिक उडानका लागि भिजिबिलिटी आठ सय मिटर र आगमनको लागि भिजिबिलिटी १६ सय मिटर चाहिन्छ । तर, अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ देखि ६ सय मिटर मात्रै भिजिबिलिटी भएकाले उडान अवतरण प्रभावित भएको हो । हवाई उडान हुन नसक्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुको चाप छ ।