एमाले अध्यक्षमा केपी ओली निर्वाचित

तु खबर संवाददाता
२०७८ मंसिर १४,मंगलवार १५:५९

चितवन । नेकपा एमालेको अध्यक्षमा पुनः केपी शर्मा ओली निर्वाचित भएका छन् । एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा भएको निर्वाचनमा ओली पुनः निर्वाचित भएका हुन् । आज (मंगलबार) बिहान भएको मतदानको मत परिणाम अनुसार ओली भारी मतले अध्यक्ष पदमा विजयी भएका हुन् ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार, ओली उनका प्रतिद्वन्द्वी भीम रावललाई हराउँदै निर्वाचित बनेका हुन् । ओलीले १ हजार ८ सय ८ मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २२३ मत पाएका निर्वाचन समितिका सदस्य बाबुराम दाहालले जानकारी दिए । यद्यपि निर्वाचन समितिले मत परिणामको औपचारिक घोषणा भने गरेको छैन ।

सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि मंगलबार बिहान निर्वाचन भएको थियो । एमालेका कुल २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो । तीमध्ये ओलीले १ हजार ८ सय ८ मत प्राप्त गरेका हुन् । यसअघि एमालेको नवौं राष्ट्रिय महाधिवेशनमा ओली अध्यक्ष र रावल उपाध्यक्ष पदमा निर्वाचित भएका थिए