हल्का हिमपातको सम्भावना

रासस
२०७८ मंसिर १३,सोमबार १४:३६
file photo

काठमाडौँ । न्यूनचापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले नेपालमा बङ्गालादेश र आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावका साथै अरब सागर तथा आसपासमाको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ ।

विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गदै प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र देशभर चिसो बढ्ने क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । मङ्गलबार देशभर आंशिक बदली रही गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव एक डिग्री र अधिकतम तापक्रम २१ दशमलव चार डिग्री सेल्सियस छ । त्यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस तीन दशमलव पाँच डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम २९ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।