आजदेखि ४२ जिल्लामा कांग्रेसको जिल्ला अधिवेशन

तु खबर संवाददाता
२०७८ मंसिर १०,शुक्रबार ०९:४४

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा आज (शुक्रबार) जिल्ला अधिवेशन हुँदैछ । कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ४२ जिल्लामा आज जिल्ला अधिवेशन गर्ने महाधिवेशन कार्यतालिकामा उल्लेख छ ।

प्रदेश नम्वर २ का ७ जिल्लाबाहेक बाँकी जिल्लामा आजदेखि जिल्ला अधिवेशन हुने भएको निर्वाचन समितिले जनाएको छ । मकवानपुरमा भने कांग्रेसको जिल्ला अधिवेशन केन्द्रीय अधिवेशनपछि मात्रै हुने निर्वाचन समितिले जनाएको छ । गत मंसिर ६ गते मात्रै संघको क्षेत्रीय अधिवेशन सम्पन्न भएको र संघीयतापछि पहिलो पटक हुन गइरहेको कांग्रेसको बागमती प्रदेश अधिवेशन मंसिर १६ र १७ गते हेटौंडामा नै सम्पन्न गर्नुपर्ने भएकाले जिल्ला अधिवेशनलाई सारिएको कांग्रेस मकवानपुरले जनाएको छ ।

यस्तै, चितवनमा पनि जिल्ला अधिवेशन अनिश्चित छ । अन्य ४२ जिल्लामा भने आज जिल्ला अधिवेशन हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार, एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा यसअघि नै कांग्रेसको जिल्ला अधिवेशन सुरु भइसकेको छ । बिहीबारसम्म करिब ३० जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ ।

एक मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका रसुवा, खोटाङ, दार्चुला, धनकुटामा अधिवेशन हुन बाँकी छ । सोलुखुम्बुमा पहिलो चरणमा सभापतिका उम्मेदवार कसैले पनि बहुमत ल्याउन नसकेपछि मंसिर १४ गते फेरि निर्वाचन हुँदैछ । कांग्रेस प्रदेश अधिवेशन मंसिर १६–१७ गते हुँदैछ भने केन्द्रीय महाधिवेशन मंसिर २४–२६ सम्म काठमाडौंमा हुँदैछ ।