क्षेत्र नम्वर १ (ख) को निर्वाचन सकियो, मतगणना सुरु
मकवानपुर । नेपाली कांग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन अन्तरगत आज मकवानपुरमा प्रदेशसभा अधिवेशन जारी छ । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर १ को प्रदेशसभा (ख) को निर्वाचन भर्खरै सम्पन्न भएको छ । निर्वाचन सम्पन्न गरी मतगणना सुरु भएको मतदान अधिकृत रामकुमार अधिकारीले जानकारी दिएका छन् ।
हेटौंडाको जयगणेश पार्टीप्यालेशमा भएको अधिवेशनमा राजेश बानियाँ प्यानल र रमेशध्वज कार्की प्यानलबीच मतदान भएको थियो । मतदान अधिकृत अधिकारीका अनुसार १ घण्टा भित्रै मतपरिणाम सार्वजनिक गरिने छ । यसअघि मकवानपुर कांग्रेस मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर १ को प्रदेश सभा (क) मा सभापति पदमा सुशान्तकुमार श्रेष्ठ निर्विरोध चयन भइसकेका छन् । सभापतिमा उनको मात्रै उम्मेदवारी दर्ता भएपछि श्रेष्ठ निर्विरोध भएका हुन् । त्यस्तै सचिव पदमा भूमिनन्द गौतम र शंकर पराजुली निर्विरोध भएका छन् ।
सहसचिवमा दीपक ढकाल र अमर सोराइली पनि निर्विरोध भएका हुन् । सदस्य खुला महिला तर्फ जानुका ठकुरी, समिक्षा विक र छायाँ अधिकारी निर्विरोध भएका छन् । अन्य पदमा भने अरुको पनि उम्मेदवारी दर्ता भएकोले निर्वाचन हुने प्रमुख निर्वाचन अधिकृत गणेशप्रसाद हुमागाईले जानकारी दिए ।
क्षेत्र नम्वर २ को प्रदेशसभा (क) र (ख) को भने मतदान जारी रहेको जनाइएको छ । प्रतिनिधिसभा क्षेत्र नम्वर २ को प्रदेशसभा (क) को अधिवेशन थाहा नगरपालिकाको पालुङ्स्थित जेसीज भवन हुँदैछ भने प्रदेशसभा (ख) को अधिवेशन बसामाडी जेसीजको भवनमा हुँदैछ ।
अधिवेशनले ४ वटै निर्वाचन क्षेत्रबाट सभापति १, उपसभापति २, सचिव २ र सहसचिव २ जन चयन गर्नेछ । त्यस्तै खुल्ला, महिला, समावेशी, दलित आदीवासीसमेतबाट जम्मा १८ जना सदस्य चयन हुनेछन् । निर्वाचित सदस्यबाट कार्यसमितिले कोषाध्यक्ष मनोनयन गर्ने जनाइएको छ ।
