आज देशैभरबाट एमालेले महाधिवेशन प्रतिनिधि छान्दै, मकवानपुरमा सहमतिमै छनोट

तु खबर संवाददाता
२०७८ कार्तिक २७, शनिबार ०८:५१
file-photo

मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज देशैभरबाट महाधिवेशन प्रतिनिधि छनोट गर्दैछ । पार्टीको संगठित सदस्यताको आधारमा जिल्लाबाट प्रतिनिधि चयन गर्न आज देशैभर एकैसाथ चुनाव हुँदैछ । एमालेमा हालसम्म ८ लाख १० हजार संगठित सदस्य रहेका छन् । कतिपय जिल्लामा यसअघिनै सर्वसम्मत प्रतिनिधि चयन भइसकेको एमालेले जनाएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिमा पहिलो १२ सय संगठित सदस्यबाट १ महिला र २ खुलासहित ३ जना चयन गर्ने व्यवस्था रहेको छ ।

सो संख्यामा ८ सयसम्म सदस्य थप भएमा थप १ जना, १६ सयसम्म सदस्य भए थप २ जना, २४ सयसम्म सदस्य थप भएमा कम्तिमा १ महिलासहित ३ जना चयन हुनेछन्। ३ जना प्रतिनिधि निर्वाचित हुँदा कम्तिमा १ जना महिला अनिवार्य हुनुपर्नेछ । देशभित्रका जिल्ला र विशेष जिल्ला अन्तर्गतका ५ सयसम्म दलित पार्टी सदस्य मध्येबाट निर्वाचित हुने १ जना प्रतिनिधि सो संख्यामा ५ सयसम्म सदस्य थप भएमा थप १ जना, १ हजारसम्म सदस्य थप भएमा थप २ जना, १५ सयसम्म सदस्य थप भएमा कम्तिमा १ महिलासहित ३ जना निर्वाचित हुनेछन् ।

भूगोलका प्रदेश अन्तर्गतका मजदूर पार्टी सदस्य मध्येबाट कम्तिमा ३ महिलासहित ७ जनाका दरले निर्वाचित हुने प्रतिनिधित्व हुने छ । यसरी महाधिवेशनका लागि कुल १ हजार ९ सय ९९ प्रतिनिधि चयन हुने एमालेले जनाएको छ। एमाले आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा पार्टीको दशौं राष्ट्रिय महाधिवेशन गर्दैछ।

एमालेले मकवानपुरबाट भने सर्वसम्मत रुपमा १७ जना महाधिवेशन प्रतिनिधि छनोट गरेको छ । ९ हजार २ सय ६८ जना संगठित सदस्य रहेको एमाले मकवानपुरबाट राष्ट्रिय महाधिवेशनका लागि १ जना दलितसहित १७ जना प्रतिनिधि सर्वसम्मत छनौट भएको अध्यक्ष बद्रीप्रसाद लम्सालले जानकारी दिए ।

कूल ७३ जनाको उम्मेदवारी परेको भएपनि सर्वसम्मत रुपमा नै छनौट गरिएको उनले बताए । प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट कृष्ण दाहाल, रामचन्द्र राई, बद्री लम्साल, कमल विष्ट, विरबहादुर घलान, फुर्वादोर्जे लामा, जुनेली श्रेष्ठ र सीता विष्ट छनौट भएका छन् भने प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट सुवासचन्द्र ठकुरी, एकलाल श्रेष्ठ, लालबहादुर थापा, हिदम लामा, महेश बर्तौला, विष्णुप्रसाद ढकाल, बरिना बल, सुमित्रा काफ्ले छनौट भएका हुन् । दलित कोटामा भने नारायण गजमेर छनोट भएका छन् ।