नेकपा एमाले स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । नेकपा एमालेले आज स्थायी कमिटी बैठक बोलाएको छ । बैठक आज अपराह्न ४ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार, उक्त बैठकमा वडा र पालिका अधिवेशन रिपोर्टिङ र समीक्षा हुनेछ ।
एमालेले गत कात्तिक ६ गते वडा अधिवेशन सम्पन्न गरेको थियो भने कात्तिक ९ गते पालिका अधिवेशन सुरु गरेको छ । वडा र पालिका अधिवेशनमा एमालेले सर्वसम्मतिबाट नेतृत्व चयन गरिरहेको छ । राष्ट्रिय महाधिवेशन मापदण्ड र कार्यतालिकाका सन्दर्भमा छलफल हुनेछ । १० औं महाधिवेशनका प्रतिनिधि तय गर्न मापदण्ड बनाएर कार्यतालिका बनाइने उनको भनाइ छ । एमालेले आगामी मंसिर ११ र १२ गते चितवनमा पार्टीको १० औं महाधिवेशन गर्दैछ ।
