एमाले अध्यक्ष ओलीद्वारा ६ हजार ७ सय ४३ वडाको अधिवेशन उद्घाटन

तु खबर संवाददाता
२०७८ कार्तिक ६,शनिबार १३:५५

काठमाडौँ । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन अन्तरगत आज देशैभरको ६ हजार ७ सय ४३ वडाहरुमा अधिवेशन हुँदैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले देशभरका वडाको अधिवेशन उद्घाटन गरेका छन् । पार्टी अध्यक्ष ओलीले केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअल माध्यमबाट देशैभरका वडाको एकैसाथ अधिवेशन उद्घाटन गरेका हुन् । अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले सवै वडाका अधिवेशनहरू भव्य, समझदारी र एकतावद्धसाथ सम्पन्न हुनेमा विश्वास व्यक्त गरे ।

ओलीले गरेको वडा उद्घाटन इन्टरनेट पहुँच भएका वडामा समेत उद्घाटन कार्यक्रम ‘डिस्प्ले’ गरिएको छ । पार्टीका सदस्यले नै वडाको नेतृत्व चयन गर्ने अधिवेशनले पाँचजना प्रतिनिधिसहित सदस्यहरु चयन गर्नेछ । जसमा अध्यक्ष –१, उपाध्यक्ष–१, सचिव– १ र उपसचिव –२ चुनिनेछन् । अधिवेशनले गाउँपालिका , नगरपालिकाका वडामा ३१ सदस्यीय कमिटी बन्नेछ भने उपमहानगरपालिकाका वडामा ४१, महानगरपालिकाका वडामा ५१ सदस्यीय कमिटी गठन बन्नेछ । उद्घाटन भएका ६ हजार बढि वडाले आजै नेतृत्व पाउने एमालेले जनाएको छ । हालैको बाढी पहिरोबाट प्रभावित जिल्लामा भने केही समयपछि अधिवेशन हुनेछ ।

लोकतान्त्रिक भन्ने कांग्रेसले अधिवेशन गर्न सकेन –ओली

वडाको अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन गर्न असफल भएको बताएका छन् । आफुलाई लोकतान्त्रिक भन्ने पार्टी कांग्रेसले नै अधिवेशन गर्न नसकेको भन्दै उनले टिप्पणीसमेत गरे । कांग्रेसको नाम नलिई ओलीले भने, ‘केही आफूलाई लोकतान्त्रिक पार्टी भन्नेहरूले महाधिवेशन गर्न नसकेर अल्झिएको अवस्था छ । पार्टी विधान र नेपालको संविधानले दिएको समयमा पनि महाधिवेशन गर्न असफल भएका छन् ।’ साढे पाँच वर्षभित्र पनि अधिवेशन गर्न नसकेर थप ६ महिनामा पनि अधिवेशन गर्न नसकिएको ओलीको भनाइ छ । ‘१३ जिल्लामा अझै वडा अधिवेशन समेत हुन सकेको छैन । तर हामीले एकै पटक अधिवेशन सम्पन्न गर्दै छौँ,’ उनले भने ।