सीके राउतलाई पक्राउ गर्न माग गर्दै हेटौंडामा इन्जिनियरहरुको प्रदर्शन

तु खबर संवाददाता
२०७८ कार्तिक ६, शनिबार १२:२७

मकवानपुर । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका नि. इन्जिनियर प्रमुख राजेश कुशवाहासहित अन्य कर्मचारीमाथि गरिएको अमानवीय व्यवहारको विरुद्धमा बागमती प्रदेशको राजधानी हेटौंडाको बुद्ध चोकमा इन्जिनियरहरुले हातमा कालो पट्टि बाँधेर विरोध प्रदर्शन गरेका छन् ।  इन्जिनियरमाथि दूर्व्यवहार गर्ने सिके राउतको कार्यकता र राउतसमेतलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइनुपर्ने मागसहित प्रदर्शन गरिएको हो ।

सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालको अगुवाईमा भएको विरोध प्रदर्शन कार्यक्रममा मकवानपुरका सरकारी कार्यालय तथा निजि कन्सल्टेन्सीका इन्जिनियरहरुको बाक्लो उपस्थिति देखिएको थियो । कानूनी राज्यमा इन्जिनियरहरुलाई कुनैपनि तरिकाबाट यस्तो अमानवीय व्यवहार हुन नहुने र दोषीहरुलाई कडा कारवाही गर्नुपर्ने माग सहित विरोध कार्यक्रम गरिएको हेटौंडा उपमहानगरपालिकाका भवन इजाजत शाखा प्रमुख सत्यनारायण शाहले बताए ।

भविष्यमा पुनः इन्जिनियरमाथि हुने यस्ता अमानवीय व्यवहारको अन्त्य गर्न र इन्जिनीयरहरुलाई समान दृष्टिकोणले हेर्ने सेवा ऐन नबन्दासम्म दैनिक रुपमा विरोध कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ । सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले बिहीवार जनकपुरस्थित खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख राजेश कुशवाहालाई नियन्त्रणमा लिएर लछारपछार गरेका थिए । उनीहरुले जनकपुर ८ स्थित बलवामा खनिएको ढलको खाल्डो नपुरेको भन्दै कुशवाहालाई दुर्व्‍यवहार गरेका थिए ।