शनिबार मकवानपुरको १०२ वडाको अधिवेशन हुँदै

तु खबर संवाददाता
२०७८ कार्तिक ६, शनिबार ०८:३३
file-photo

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको १० औँ राष्ट्रिय महाधिवेशन अन्तरगत शनिवार देशैभरका वडास्तरको अधिवेशन हुँदैछ । मकवानपुरमा पनि आज १०२ वटै वडाको अधिवेशन सम्पन्न गरिने जिल्ला अध्यक्ष बद्रीप्रसाद लम्सालले जानकारी दिएका छन् । मकवानपुरमा साढे १० हजारको संख्यामा रहेका संगठीत सदस्यहरु आज हुने वडास्तरको निर्वाचनको मतदान प्रक्रियामा सहभागि हुन पाउने जनाइएको छ ।

अधिवेशनले हेटौंडा उपमहानगरपालिकामा ४१ सदस्यीय वडा कमिटी चयन गर्नेछ । अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, उपसचिव २ र ३६ जना सदस्य चयन हुनेछन् । वडा कमिटीमा ३३ प्रतिशत महिला, केही प्रतिशत विभिन्न आरक्षण कोटाको समेत व्यवस्था गरिएको जनाइएको छ । त्यस्तै थाहा नगरपालिका, र क्रमश मकवानपुरगढी, इन्द्रसरोवर, भीमफेदी, मनहरी, कैलाश, राक्सिराङ, बागमती र बकैया गाउँपालिकामा ३१ सदस्यीय वडा कमिटी बनाइने अध्यक्ष लम्सालले जानकारी दिए । वडा कमिटीमा ५ पदाधिकारी र २६ जना सदस्य चयन हुने जनाइएको छ ।

सबै वडामा मतदान अधिकृत पुगिसकेका छन् । पार्टीको पहिलो प्रयास सहमतिकै आधारमा नयाँ नेतृत्व चयन गर्नेमा हुने अध्यक्ष लम्सालले बताए । सहमति जुट्न नसकेका केही वडाहरुमा मतदान प्रक्रियामार्फत् निर्वाचन सम्पन्न गरिने उनको भनाई छ । साँझसम्ममा अधिकाँश वडा कमिटीको निर्वाचन प्रक्रियाको परिणाम आइसक्ने उनले बताए ।