एमालेको १० औं अधिवेशन चितवनमा हुने

तु खबर संवाददाता
२०७८ कार्तिक ५,शुक्रबार ०८:३५
फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेको मंसिर १० गतेदेखि १२ गतेसम्म हुने १० औं महाधिवेशन चितवनमा हुने भएको छ । पार्टीको बिहीबार बसेको स्थायी कमिटी बैठकले उक्त महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको सचिव गोकर्ण विष्टले जानकारी दिए । उनका अनुसार, महाधिवेशनको तयारी गर्न मूल व्यवस्थापन समिति पनि गठन भएको छ ।

महाधिवेशन तयारीको लागि रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन भएको हो । समितिको सदस्यहरु सुरेन्द्र पाण्डे, योगेश भट्टराई, विष्णु रिमाल, काशीनाथ अधिकारी, राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावल रहेका छन् ।

यसबाहेक सातै प्रदेश र सम्पर्क समन्वय कमिटीको प्रतिनिधि मूल व्यवस्थापन समितिमा रहने बैठकले निर्णय गरेको छ । बैठकले बाढीपहिरो र डुवान प्रभावित क्षेत्रको वडा अधिवेशन र पालिका अधिवेशन सार्ने निर्णय गरेको छ । तर, कात्तिकभित्र सबै वडा र पालिका अधिवेशन गरिसक्ने तयारी रहेको छ ।

एमालेले कात्तिक ६ मा तोकिएको वडा र कात्तिक ९ मा पालिका अधिवेशन गर्ने तयारी गरेको छ । एमाले स्थायी कमिटीको बैठक आज (शुक्रबार) पनि बस्दैछ । बैठक अपराह्न २ बजे बस्ने भएको हो , आज बस्ने उक्त बैठकमा दश बुँदे कार्यान्वयनमा देखिएको समस्याबारे समेत छलफल गर्ने कार्यसूची रहेको छ ।