बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्रीको टोली सुदुरपश्चिमतर्फ प्रस्थान

तु खबर संवाददाता
२०७८ कार्तिक ४, बिहीबार ०९:१७

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकन गर्न सुदुरपश्च्मि प्रदेशतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री देउवा बिहिबार बिहान काठमाडौंबाट प्रदेशको बाढीपहिरो र डुबान प्रभावित विभिन्न जिल्लामा अवलोकन गर्न निस्किएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री सचिवालयका अनुसार, प्रधानमन्त्री देउवासँगै अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्रीत्रय एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर पनि अवलोकन गर्न निस्किएका छन् । प्रधानन्त्रीको सरकारी निवास बालुवाटारबाट सिधै सुर्खेत जानेछन् । सुर्खेत विमानस्थलमा कर्णाली प्रदेशमा भएको क्षतिका सन्दर्भ प्रधानमन्त्रीले बिफ्रिङ लिने छन् ।

त्यसपछि प्रधानमन्त्रीको टोली सुर्खेतबाट डोटीको दिपायल प्रस्थान गर्नेछ । त्यसपछि बझाङ, डडेलधुरा, कञ्चनपुर हुँदै कैलालीको अवलोकनपछि प्रधानमन्त्रीको टोली धनगढी बास बस्ने छन् । देउवाको टोली शुक्रबार बर्दिया र बाँके हुँदै मात्रै काठमाडौं फर्किने कार्यक्रम तय भएको जनाइएको छ ।

केही दिनदेखि आएको अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा व्यापक जनधनको क्षति भएको छ । सरकारले बाढी पहिरोबाट मृत्यु भएकाका परिवारलाई कम्तिमा २ लाख र घर क्षति भएको परिवारलाई ३ देखि ५ लाखसम्म दिने निर्णय गरेको छ । साथै सरकारले बाढीपहिरो र डुबानमा परेर घाईते भएकाहरुलाई निरःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।