एमाले स्थायी कमिटी बैठक बस्दै

तु खबर संवाददाता
२०७८ कार्तिक ४, बिहीबार ०८:१४
file-photo

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे तुलसीलाल अमात्य प्रतिष्ठान च्यासलमा बस्ने भएको हो । सो बैठकमा विधान महाधिवेशनको समिक्षा, कात्तिक ६ गते हुने वडा र ९ गते हुने पालिका अधिवेशनका साथै मंसिरमा हुने राष्ट्रिय महाधिवेशनबारे छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

तामाङका अनुसार, अविरल वर्षाका कारण देशमा भएको जनधनका बारेमा समेत छलफल गर्ने बैठकको एजेण्डा रहेको छ । एमालेको आजको बैठकले पार्टीको दशौं राष्ट्रिय महाधिवेशन कहाँ गर्ने भन्ने स्थान तय गर्नेसमेत नेताहरुले बताए । उनीहरुका अनुसार राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने प्रस्ताव आएकाले बैठकले उक्त प्रस्ताव स्वीकार्ने सम्भावना रहेको जनाएको छ ।

यसअघि भदौमा भएको विधान महाधिवेशन समापनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय महाधिवेशन बुटवलमा गर्ने माग आएकाले अन्यथा निर्णय नभए बुटवलमै महाधिवेशन गर्ने घोषणा गरेका थिए । एमालेको महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेका लागि तोकिएको छ ।