अहिलेको सरकार ढाल्दिउँ भन्ने लाग्यो भने हामीलाई एक हप्ता पनि लाग्दैन– ओली

तु खबर संवाददाता
२०७८ कार्तिक ३,बुधबार १७:१९
file-photo

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुहरुले चाहेमा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार एक हप्तामै ढल्ने बताएका छन् । बुधबार वागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले वर्तमान सरकारमा लोभी पापीमात्रै रहेकोले उनीहरुलाई अलिकति बिलो लगाउने हो भने सरकार ढल्ने बताए ।

उनले भने ‘अहिले पनि यो सरकार ढाल्दिउँ भन्ने हो भने एक हप्तामा ढल्छ । यस्तै साँठगाँठ, गठबन्धन गर्ने हो भने त हामी सात दिनभित्र ढालिदिन्छौं । लोभीपापीहरू छन्, दिए भइगो नि । ढलिहाल्छ नि । दिए सिद्धिने कुरा छ त्यहाँ’, ओलीले एमालेको उदेश्य र अभिष्ट सरकार बनाउने नभइ देश बनाउने बताए । वर्तमान सरकारले यो देशको असाधारण बहुमूल्य समय खेर फालिरहेको उनको भनाई छ ।

हामीलाई सवै तहका चुनावमा विजयी चाहियो । हाम्रो निशाना चुनावको तयारी’, कार्यकर्तालाई ओलीले निर्देशन दिए । ओलीले सरकार आलोचना गर्न पनि लायक नरहेको टिप्पणी गरे । सरकारको सय दिन पूरा भइरहँदा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकार आलोचना गर्न पनि लायक नरहेको टिप्पणी गरेका हुन् । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको समेत ब्यापक आलोचना गरे ।