महाकालीमा हालसम्मकै ठूलो बाढी, २ सय घर डुबानमा

तु खबर संवाददाता
२०७८ कार्तिक २, मंगलवार ०९:४४
file-photo

कञ्चनपुर । अविरल बर्षाका कारण महाकाली र जोगबुढा नदीमा हालसम्मकै ठूलो बाढी आएको छ । बाढीले तटीय क्षेत्रको २ सय घर ढुबानमा परेका छन् । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाको वडा नम्बर ९, १२ र १३ तथा दोधाराचाँदनी नगरपालिका वडा नम्बर १० को कुतियाकबर क्षेत्रका दुई सय घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

बाढीले चार लेनको महाकाली पुललाई जोड्ने पहुँच मार्गका रुपमा निर्माण भइरहेको ६ लेनको सडकमा पनि क्षति पुर्याएको जनाइएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले महाकाली नदी र जोगबुढा नदीमा अहिलेसम्मकै ठूलो बाढी आउँदा तटीय क्षेत्रका सयौं घरपरिवार प्रभावित भएको बताए ।

नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम जारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले बताए । आइतबारदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा भइरहेको लगातारको वर्षापछि महाकाली लगायतका नदीहरुमा बाढी आएको छ ।

हालसम्म मानवीय क्षति भने नभएको स्थानीय प्रशासनले जनाएको छ । बाढीका कारण प्रभावित परिवारहरुलाई उद्धार तथा राहतका लागि बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीहरु परिचालन गरिएको छ । उद्धार तथा राहतको कार्यमा जिल्लामा क्रियाशील गैरसरकारी संघसंस्थाहरुको सहयोग लिने काम समेत भइरहेको उनले बताए । तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम जारी राखिएको छ । भिमदत्त नगरपालिका वडा नम्बर १२ का ४० परिवारलाई स्थानीय विद्यालयमा राखिएको छ ।