मन्त्री बन्न नपाएको झोंकमा आफ्नै कार्यकर्ताले उपेन्द्र यादवको पुत्ला जलाए

तु खबर संवाददाता
२०७८ आश्विन २३,शनिबार ११:४७
file-photo

पर्सा । जनता समाजवादी पार्टीमा मन्त्री बन्न नपाएकाहरुको असन्तुष्टी देखिन थालेको छ । आफूलाई मन्त्री नबनाएको रिसमा केही नेता तथा कार्यकर्ताहरुले पर्सा जिल्लाको बीरगञ्जमा अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएका छन् प्रतिनिधिसभा सदस्य प्रदिप यादवलाई मन्त्री नबनाएकोमा सो पार्टीका कार्यकर्ता तथा केही नेताहरुले अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिएसँगै मन्त्री बन्न नपाएकाहरुले झोंक देखाउन थालेका हुन् ।

सत्ता गठबन्धन सम्मिलित दलमा आफूले मन्त्री हुन नपाएकोमा असन्तुष्टी बाहिर आउन थालेको हो । असन्तुष्टहरुले पार्टीको झण्डामा समेत आगो लगाएका छन् भने पार्टी कार्यालयको बोर्ड समेत झिकेर फालेका छन् । आफ्नो समूहबाट मन्त्री नबनाइएकोमा नेपाली काँग्रेसभित्र पनि असन्तुष्ट रहेको छ । सो असन्तुष्टीतर्फ सङ्केत गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान आयोजित एक कार्यक्रममा क्षमता भएकाहरुलाई मन्त्री बनाउन नसकिएको बताएका छन् । गठबन्धन सरकार भएका कारण सबैलाई समेट्न पर्ने भएकाले समस्या परेको छ । गैरसांसद्लाई मन्त्री बनाइएकोमा पनि देउवाको आलोचना भइरहेको छ ।