यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज पूर्वानुमान जारी गरेको छ । महाशाखाले जारी गरेको पूर्वानुमानमा आज (शुक्रबार) बाट नेपालको मौसमलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नभएको जनाएको छ । महाशाखाले शुक्रबारबाट यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भूभाग, लुम्बिनी प्रदेशको पश्चिमी भूभागबाट बहिर्गमन भएको जनाएको छ ।
महाशाखाले हाल प्रदेश नं १ र बाँकी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा सामान्यतया सफादेखि आंशिक बदली भइरहेको जनाएको छ । साथै, प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा भईरहेको पूर्वानुमानमा उल्लेख छ ।
यसैगरी, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने आज राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
