कांग्रेसले ८, माओवादीले ६, एकीकृत समाजवादी र जसपाले ४–४ मन्त्रालय पाउने

तु खबर संवाददाता
२०७८ आश्विन २०,बुधबार ०९:२२

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री नियुक्त भएको लामो अवधिसम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै सर्वत्र आलोचना भइरहेको बेला अब भने मन्त्रिपरिषद्ले पूर्णता पाउने संभावना बढेर गएको छ । मंगलबार सत्ता गठबन्धनको बैठकमा दलहरुबीच मन्त्रालयको भागबण्डा मिलाइएपछि मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउने आधार तय भएको हो ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रालयको भागबण्डाबारे सहमति जुटेको छ । बैठकमा काँग्रेसले प्रधानमन्त्रीसहित ८ वटा, माओवादी केन्द्रले ६ वटा, नेकपा एकीकृत समाजवादी र जसपाले ४–४ वटा मन्त्रालय पाउने गरी सहमति भएको छ । कांग्रेसलाई गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पाउने गरी सहमति भएको छ । त्यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, रक्षा मन्त्रालय, महिला र युवा तथा खेलकुद मन्त्रालयपनि कांग्रेसकै भागमा परेको कांग्रेस निकट स्रोतले जनाएको छ ।

जनता समाजवादी पार्टीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपन्छी मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र बन तथा बातवरण मन्त्रालय पाउने भएको छ । भने माधव नेपालले नेतृत्व गरेको एकीकृत समाजवादीले कानून शहरी विकास श्रम र पर्यटन मन्त्रालय पाउने भएको हो ।

यसैगरी माओवादी केन्द्रले अर्थ, ऊर्जा, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था र खानेपानी मन्त्रालय पाएको छ । मन्त्रालयको भागबण्डा मिलेसंगै जसपा आन्तरिक तयारीमा जुटेको छ । पाँच दलीय गठबन्धनमा मन्त्रालयको टुंगो लागेपछि जसपा संसदीय दलको बैठक बसेको हो । बैठकले मन्त्री छान्ने जिम्मा उपेन्द्र यादवलाई दिएको छ ।