आज यी स्थानहरुमा वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनको अवधि सकिए पनि मनसुन बाहिरिन भने अझै समय लाग्ने जानकारी दिएको छ । विभागले यस वर्षको मनसुनको समयावधि अक्टोबर २ सम्म तोकेको भएपनि मनसुनको प्रभाव अझै कायम रहने जनाएको हो । अझै पनि नेपालमा मनसुनको पूर्वीय वायु नै सक्रिय छ । जसका कारण देशका धेरै भू–भागमा बदलीसहित वर्षा भइरहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल प्रदेश १, प्रदेश २ तथा बाग्मती प्रदेशमा सामान्य बदली रही बाकी भू–भागमा आंशिक बदली रहेको छ । प्रदेश १ र प्रदेश २ का धेरै स्थानहरूमा र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज (आइतबार) देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ भने प्रदेश १, प्रदेश २ का एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । यस्तै, सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै प्रदेश १ का एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको र मंगलबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
