हेटौंडामा निःशुल्क मुटुरोग शिविर, ६०० जनाले लिए सेवा

तु खबर संवाददाता
२०७८ आश्विन १७, आईतवार ०९:४०

मकवानपुर । हेटौंडा अस्पतालमा शनिबार भएको निःशुल्क मुटुरोग शिविरमा ६ सय जनाले सेवा लिएका छन् । मदनमण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित उक्त अस्पतालमा शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र बासबारी काठमाडौंका मुटुरोग विशेषज्ञ चिकित्सकहरुले बिरामीहरुको जाँच गरेका थिए ।

निःशुल्क सेवा लिएका ६ सय नाममध्ये ८० प्रतिशत नागरिकमा मुटु समस्या देखिएको शहीद गंगालाल राष्ट्रिय हदयरोग केन्द्रका डाइरेक्टर चन्द्रमणि अधिकारीले जानकारी दिए । शिविरमा बिरामी जाँच गरिसके पछि भएको पत्रकार सम्मेलनमा बोल्दै उनले सो बारे जानकारी दिएका हुन् । उनले बाथ, चिनीरोग (सुगर), उच्च रक्तचाप, मधुमेहलगायतका कारणले पनि मुटुमा समस्या हुने जानकारी दिँदै ८० प्रतिशत नागरिकमा मुटुको समस्या देखिएको बताए ।

शिविरमा स्वास्थ्य जाँच गरिएका ३० जना बिरामीलाई काठमाडौं नै गएर मुटुको शल्यक्रिया गर्नुपर्ने देखिएको अधिकारीले बताए । उनका अनुसार, मुटुको समस्या हुनेमा १५ वर्षभन्दा मुनिका ३ जना बालबालिकासमेत रहेका छन् । यी बिरामीहरुको मुटुको भल्भ फेर्नुपर्ने तथा भल्भ साँधुरो भएकाले आवश्यक उपचार गर्ने उनले बताए । यस्तै, शिविरमा जाँच गराउन आएका बिरामीहरुमध्ये १ सय जनाको इको कार्डियो तथा ३ सय ३० जनाको इसीजी मेसिनमार्फत् ६ जाँच गरिएको जनाइएको छ ।

शिविरमा के शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका ७ जना विशेषज्ञ चिकित्सक र ४ जना प्राविधिकहरुद्वारा सेवा प्रदान गरिएको थियो । डाइरेक्टर अधिकारीले शल्यक्रिया गर्नुपर्ने बिरामीहरुको सरकारले निर्धारण गरेको उपचारको मापदण्डको आधारमा रहेर निःशुल्क शल्यक्रिया हुने जानकारी दिए । मापदण्डभन्दा बाहिरको उपचार गराउनेहरुको सन्दर्भमा सम्बन्धित पालिकाको सिफारिसको आधारमा सरकारले १ लाख रुपैयाँसम्मको उपचार खर्च प्रदान गर्ने उनले जानकारी दिए ।