चार पूर्व प्रधानन्यायाधीशमाथि लागेको अवहेलना मुद्दा खारेज

तु खबर संवाददाता
२०७८ आश्विन १५, शुक्रबार १७:०७

काठमाडौं । सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीशमाथि लागेको अवहेलना मुद्दा खारेज गरेको छ । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना प्रधान मल्लको संयुक्त इजलासले चार जना पूर्व प्रधानन्यायाधीशमाथि लागेको अवहेलना मुद्दा खारेज गरिदिएको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक प्रतिनिधिसभा विघटनको निर्णय गर्दा सो निर्णय असंवैधानिक भएको दाबी गर्दै पूर्व प्रधानन्यायाधीशहरू क्रमशः मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त विज्ञप्ति निकालेका थिए । सो विषय अदालतमा पुगिसकेको र अदालतलाई प्रभाब पार्ने गरी विज्ञप्ति निकालेको भन्दै अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो ।

चारपटक पेसीमा चढेको उक्त मुद्दा एकपटक हेर्न नभ्याइने सूचीमा राखिएको थियो भने अर्कोपटक निवेदकको कानून व्यवसायीबाटै स्थगित गरिएको थियो । असोज १५ गते पेसीमा चढेको उक्त रिटमाथि मागदाबी नपुग्ने भन्दै खारेज गरिएको जनाएको छ । यससँगै विज्ञप्ति निकालेकै आधारमा अदालतको अवहेलना मुद्दामा जोडिएका चार जना पूर्व प्रधानन्यायाधीशहरूले सफाई पाएका छन् ।