बैंकिङ कसूर मुद्दामा फरार प्रतिवादी पक्राउ
मकवानपुर । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जन्तेढुंगा गाउँपालिका–३ खोटाङ स्थायी घर भइ हाल काठमाडौं कपनमा बस्दै आएका २६ वर्षीय खगेन्द्र खत्री रहेका छन् । उनलाई सोही स्थानबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।
उच्च अदालत पाटनले २०७७ पुस २८ गते बैंकिङ कसूर मुद्दामा ४ दिन र १० लाख ६५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो । २०७७ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्याएर नेपाल ग्लोबल आई.एम.ई बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी पीडितलाई १० लाख ६५ हजार रुपैयाँ बराबरको चेक काटेर दिएका थिए ।
बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा ठहर गरी उच्च अदालत पाटनले खत्रीलाई उक्त सजाय हुने गरी फैसला सुनाएको थियो । रकम तिर्ने व्यक्ति वा संस्थालाई भुक्तानीका लागि चेक दिने र सो चेक तोकिएको समयमा नसाटिए पीडितले मुद्धा दर्ता गर्न पाउने कानूनी व्यवस्था छ । पछिल्लो समय नसाटिने चेक दिएका कारण धेरै मुद्धाहरु पर्ने गरेको प्रहरी बताउँछ ।
