मकवानपुरमा १०० जनाको कोरोना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७८ आश्विन १०,आईतवार १७:१५

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १२ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १०० जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार, आज संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका १० जना, थाहा नगरपालिका र बागमती गाउँपालिकाका १/१ जना रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या १५ हजार २ सय ४ जना पुगेको छ । तीमध्ये हालसम्म १४ हजार ८ सय २ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा थप १ जना मात्रै संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा थाहानगरपालिकाका रहेका छन् ।

यस्तै, जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ६४ जना पुगेको छ । मृत्यु हुनेमा हेटौंडाका १ सय १६ जना, थाहानगरपालिकाका ९ जना, मकवानपुरगढीका ५ जना, बागमतीका ४ जना, कैलाशका २ जना, मनहरीका १४, भीमफेदीका ७, बकैयाका ५ जना र राक्सिराङ गाउँपालिकाका २ जनाको निधन भएको छ ।

जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने कोरोना संक्रमणका कारण हालसम्म कुनै पनि व्यक्ति निधन नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । पछिल्लो २४ घण्टामा भने कुनै पनि व्यक्तिको निधन नभएको स्वास्थ्य कार्यालयले जनाएको छ ।