एकीकृत समाजवादी मकवानपुरको विभिन्न भातृ संगठनको कमिटी घोषणा
मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीको भातृ संगठन अखिल नेपाल महिला संघ (अनेम संघ) मकवानपुरको कमिटी गठन भएको छ । शनिबार हेटौंडामा आयोजित शपथ ग्रहण तथा एकीकृत समाजवादी मकवानपुरको जिल्ला स्तरीय भेला अनेम संघको अध्यक्षमा वेगम बराललाई चयन गरेको छ । भेलाले बरालको संयोजकत्वमा १५१ सदस्यीय कमिटी गठन गरेको हो ।
यस्तै, भेलाले युवा संघको अध्यक्षमा किरण मान बललाई चयन गरेको छ । भेलाले बलको संयोजकत्वमा १३५ सदस्यीय कमिटी गठन गरेको हो । बल थाहानगरपालिका वडा नम्वर ११ का वडा अध्यक्षसमेत हुन् । यसैगरी, भेलाले अखिल नेपाल महिला संघ हेटौंडा उपमहानगरपालिका १०१ सदस्यीय कमिटी र युवा हेटौंडा उपमहानगरपालिका १०१ कमिटी घोषणा गरेको छ ।
एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालको प्रमुख आतिथ्यता रहेको थियो । सो क्रममा प्रमुख अतिथि तथा पार्टीका अध्यक्ष नेपालले एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादी पार्टी संगठन विस्तारमा लागेको र आगामी निर्वाचनमा बहुमतले जित्ने बताए ।
यस्तै, एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष पोखरेलले पार्टीले संगठन विस्तार अभियानलाई अगाडि बढाएसँगै मकवानपुरमा पनि संगठन विस्तार गरेको बताए । उनले आज घोषणा भएको कमिटीको शपथ ग्रहण जिल्ला कमिटीको पूर्ण बैठकमा गरिने जानकारी दिए ।
