हेटौंडाका दुई जना प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७८ आश्विन ९,शनिबार ०८:१४

मकवानपुर । मकवानपुर प्रहरीले विभिन्न मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले सरकारी कागजछाप दस्तखत किर्ते मुद्दा र डाँका मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । पक्राउ पर्नेहरुमा मकवानपुरको साबिक हटिया गाबिस वडा नम्वर – ३ बस्ने रामलाल मानन्धर र हेटौंडा उपमहानगरपालिका वडा नम्वर- ९ बस्ने दिप सागर मिजार रहेको प्रहरी निरीक्षक दासले बताए ।

मकवानपुर जिल्ला अदालत हेटौंडाको मिति २०७० साल जेठ २३ गतेको फैसलाले सरकारी कागज छाप दस्तखत किर्ते मुद्दामा १ वर्ष ५ दिन कैद भुक्तान गर्न बाँकी फरार प्रतिवादी मानन्धरलाई हटियाबाट पक्राउ गरेको जनाइएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारवाहीको लागि मकवानपुर जिल्ला अदालत उपस्थित गराईएको प्रहरी निरीक्षक दासले
बताए ।

यस्तै, मकवानपुर जिल्ला अदालतको मिति २०७७ साल फागुन ५ गतेको फैसलाले डाँका मुद्दामा २ महिना ४ दिन कैद र २० हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी भई फरार रहेका मिजारलाई प्रहरीले बिहिबार पक्राउ गरेको हो । उनलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारबाहीको लागि मकवानपुर जिल्ला अदालतमा उपस्थिति गराइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।