नारायणहिटीको श्रीपेच चोर्ने प्रयास गर्ने युवक पक्राउ

तु खबर संवाददाता
२०७८ आश्विन ८,शुक्रबार १६:५१

काठमाडौँ । नारायणहिटी दरबार संग्रहालयमा अवलोकनका लागि राखिएको श्रीपेच चोर्ने प्रयास गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम मुसिकोट नगरपालिका वडा नम्बर ११ स्थायी घर भई हाल काठमाडौंको म्हेपीमा बस्दै आएका अन्दाजी २५ वर्षीय खिमबहादुर घर्ती रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अननुसार, शुक्रबार दरबार संग्रहालयको अवलोकनका क्रममा घर्तीले सोकेस फुटाएर श्रीपेच झिक्न खोजेका थिए । घर्तीले रुपन्देही कक्षमा रहेको ३ फिट लम्बाइ र २ फिट चौडाइ भएको सोकेसमा रहेको श्रीपेच झिक्न खोजेको नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिए ।

घर्तीलाई सोही कक्षका सुरक्षामा बसेका नेपाली सेनाका सुरक्षा गार्डले नियन्त्रणमा लिएर दरबारमार्ग प्रहरी वृत्तलाई बुझाएका थिए । उक्त कक्षमा खुकुरी र अन्य सामग्रीसहित सोकेसमा नेपालका पूर्वराजाहरूले लगाएको श्रीपेच राखिएको थियो । पक्राउ परेका व्यक्तिको मानसिक अवस्था ठीक नभएको प्रारम्भिक अनुसन्धानमा खुलेको र घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।