नेता पोखरेलद्वारा नगर सचिव पदमा उम्मेदवारी घोषणा

तु खबर संवाददाता
२०७८ आश्विन ७, बिहीबार १८:२३

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका युवा नेता कुमार पोखरेलले पार्टीको १४ औं महाधिवेशन अन्तरगत असोज ९ गते शनिबार हुने नगर अधिवेशनमा सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । बिहिबार तु खबरसंग कुराकानी गर्दै नेता पोखरेलले आफुले सचिव पदमा उमेदबारी घोषणा गरेको जानकारी दिए ।

कांग्रेस पार्टीलाई सबल र सक्षम बनाउन आफूले सचिव पदमा उमेदवारी दिन लागेको पोखरेलले बताए । उनले पार्टीलाई न्याय, समानता, समावेशी, पारदर्शी, उत्तरदायी र गुट/उपगुटरहित बैचारिक संगठन बनाउने योजनाका साथ उम्मेद्बारी दिएको बताए । आसन्न स्थानीय तहको निर्वाचनमा उपमहानगरपालिकामा कांग्रेसका उमेदवारहरु जित्ने सांगठनिक आधार तयार पार्न आवश्यक देखिएको उनी बताउँछन् । सहमति, सहकार्य र एकताको माध्यमबाट पार्टी संगठनमा क्षमतावान व्यक्तिलाई अगाडि बढाउन र पार्टीमा सामूहिक भावनाको विकास गर्न लागिपर्ने उनको भनाई छ ।

२०३८ साल जेठ १ गते सिन्धुपाल्चोकमा जन्मिएका उनी २०४७ सालमा हेटौंडा आए । २०५६ सालबाट कम्युनिष्ट पार्टीमा क्रियाशील भएका उनी २०७० यता कांग्रेसमा सक्रिय छन् । २०७१ मा तरुण दल हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ को सभापति बनेका उनी २०७५ मा कांग्रेस जिल्ला कार्यसमिति मकवानपुरको तरुण विभाग सदस्यको जिम्मेवारीमा छन् ।