पछिल्लो २४ घण्टामा भए १८३० कोरोना संक्रमणमुक्त

तु खबर संवाददाता
२०७८ आश्विन ५,मंगलवार १७:१७

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ६ सय २६ पीसीआर परीक्षण गर्दा १ हजार ३६ जना र ३ हजार ९६६ एन्टिजेन परीक्षण गर्दा २ सय ९४ गरी १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८६ हजार ५ सय ७७ पुगेको छ । तीमध्ये मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ भने ७ लाख ५४ हजार जना संक्रमणमुक्त भएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ भने १ हजार ८ सय ३० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ५२४ जना रहेका छन् । जसमध्ये २० हजार १६४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ३६० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३३५ जना आईसीयू र १०७ जना भेन्टिलेटरमा उपचाररत् छन् । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ५५ हजार २४२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

आज कुन जिल्लामा कति थपिए संक्रमित ?
आज संक्रमण पुष्टि हुने जिल्लामा काठमाडौंमा २६१ जना, कास्कीमा १०६ जना, ललितपुरमा ९८ जना, मोरङमा ९६ जना, सुनसरीमा ७१ जना, चितवनमा ६८ जना, झापामा ५१ जना, भक्तपुरमा ४३ जना, रुपन्देहीमा ३९ जना, मकवानपुरमा २० जना, कैलालीमा १४ जना, नवलपरासी (पुर्व) मा १३ जना, काभ्रेपलाञ्चोकमा ११ जना रहेका छन् ।