पूर्ण मात्रा खोप लगाएका नागरिकलाई अमेरिकाले प्रवेश खुला गर्ने

तु खबर संवाददाता
२०७८ आश्विन ५,मंगलवार ०८:५५
file pgoto

काठमाडौँ । कोरोनाविरुद्धको खोप पूर्णमात्रामा लगाएका नागरिकलाई अमेरिकाले प्रवेश खुला गर्ने भएको छ । प्रतिबन्धलाई खुकुलो पार्दै यूके युरोपियन युनियन र अन्य राष्ट्रका यात्रुलाई अमेरिकाले प्रवेश खुला बनाउने तयारी अघि सारेको बीबीसीले उल्लेख गरेको छ । विदेशी यात्रुलाई आउँदो नोभेम्बरदेखि अमेरिकामा प्रवेश गर्न अनुमति दिइनेछ । अमेरिकाले गत वर्षदेखि कडा प्रतिबन्धहरू लगाएको छ ।

यो कदमले युरोपियन साझेदारहरुको एउटा प्रमुख मागको जवाफ दिएको छ । अब प्रतिबन्धका कारण छुट्टिएका परिवारहरु र साथीहरु पुनः मिलन हुन सक्नेछन् । ह्वाइट हाउसका कोभिड–१९ संयोजक जेफ जिएन्टस्ले सोमबार नयाँ नियमको घोषणा गरेका हुन् । उनले यो नियम देशमा भन्दा पनि व्यक्तिमा आधारित भएको बताए ।
अमेरिकाले सुरुमा २०२० को सुरुतिर चिनियाँ यात्रुमाथि यात्रा प्रतिबन्ध लगाएको थियो । पछि अन्य देशहरूमा विस्तार गरेको थियो । नयाँ नियमअनुसार विदेशी यात्रुले अमेरिका उड्नुअघि खोप लगाएको प्रमाण देखाउनुपर्नेछ । खोपको पूर्ण मात्रा लिएका यात्रु क्वारेन्टाइनमा बस्नुपर्ने छैन । कुन खोप लगाएको हुनुपर्ने भन्ने बारेमा भने स्पष्ट पारिएको छैन ।