हेटौंडाका थिङ र कोईराला पक्राउ

तु खबर संवाददाता
२०७८ आश्विन ४,सोमबार १८:३६

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध मुद्दामा फरार हेटौंडाका दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध मुद्दामा फरार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ बस्ने सुनिल सिंह तामाङ भन्ने सुनिल थिङ र हेटौंडा–९ बस्ने ४० वर्षीय राजकुमार कोईरालालाई पक्राउ गरेको हो ।

मकवानपुर जिल्ला अदालत, हेटौंडाको मिति २०७६ साल मंसिर १० गतेको फैसलाले लागुऔषध गाँजा चरेस मुद्दामा १२ दिन कैद भुक्तान गर्न बाँकी भई फरार रहेको सुनिललाई गत असोज १ गते शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । प्रहरी निरीक्षक दासका अनुसार, सुनिललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१२ बाट पक्राउ गरेको हो । उनलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि आज (सोमबार) जिल्ला अदालतमा उपस्थित गराइएको जनाइएको छ ।

यस्तै, मकवानपुर जिल्ला अदालतको मिति २०७४ साल बैशाख २६ गतेको फैसलाले लागुऔषध मुद्दामा १ महिना १० दिन कैद र ३५ हजार रुपैयाँ जरीवाना भुक्तान गर्न बाँकी भई फरार भएका हेटौंडा–९ का राजकुमारलाई आज (सोमबार) पक्राउ गरेको प्रहरी निरीक्षक दासले बताए ।उनका अनुसार, राजकुमारलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–९ बाट पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत मकवानपुर उपस्थित गराईएको छ ।