पछिल्लो २४ घण्टामा थपिए १०९५ संक्रमित, भए २९५७ संक्रमणमुक्त

तु खबर संवाददाता
२०७८ आश्विन ४,सोमबार १६:५७

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ८ सय १७ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, १० हजार ७ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा ९ सय ७५ र ३ हजार ३१ जनाको एन्टीजेन परीक्षण गर्दा १ सय २० जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८५ हजार ५ सय ४१ पुगेको छ । तीमध्ये हालसम्म ११ हजार ४८ जना कोरोना संक्रमितको निधन भएको छ भने ७ लाख ५२ हजार १७० जना संक्रमणमुक्त भएका छन् । देशभर पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको निधन भएको छ भने २ हजार ९ सय ५७ जना संक्रमणमुक्त भएका छन् ।

देशभर २२ हजार ३२३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये २० हजार ८९१ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा एक हजार ४३२ संक्रमित छन् भने ३७१ जना आइसियुमा र १०८ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर २६४ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, देशभर पछिल्लो २४ घण्टामा २२ हजार १९२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

मकवानपुरमा आज २९ जना कोरोनामुक्त
मकवानपुर । मकवानपुरमा आज (सोमबार) २९ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना संक्रमित भई होम तथा संस्थागत आइसोलेशनमा बसेका २९ जना कोरोना मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यससँगै जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या १४ हजार ७ सय ४३ पुगेको छ ।

यस्तै, जिल्लामा पछिल्ला २४ घण्टामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३९ जनाको कोरोना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो । मकवानपुरको आजको कोरोना संक्रमित दर २३ प्रतिशत रहेको छ । जिल्ला यससँगै संक्रमण पुष्टि हुनेको कूल संख्या १५ हजार १ सय २२ जना रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा हालसम्म कोरोना संक्रमणबाट १६४ जनाको निधन भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन ।