निजी औषधि पसलमा कोरोनाको खोप बरामद, दुई जना पक्राउ

तु खबर संवाददाता
२०७८ भाद्र ३१, बिहीबार १७:५३

जनकपुरधाम । धनुषाको एक निजी औषधि पसलमा कोरोनाविरुद्धको खोप भेटिएको छ । जिल्लाको शहीदनगर नगरपालिका–यदुकोहास्थित श्रीराम मेडिकलमा बिक्री गर्न राखेको कोरोनाविरुद्धको खोप भेटिएको हो ।

शहीदनगर नगरपालिकाको सुशासन समिति र प्रहरीले गरेको संयुक्त अनुगमनका क्रममा सो औषधि पसलबाट ४ थान भेरोसेल, १ थान जोन्सन एण्ड जोन्सन र १ थान अस्ट्राजेनेकाको खोप बरामद गरेको प्रहरीले जनाइएको छ । प्रहरीका अनुसार, कोरोनाविरुद्धको खोप भेटिएको पछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा श्रीराम मेडिकलका सञ्चालक कमलेश मण्डल र अर्का एक जना स्वास्थ्यकर्मीलाई पक्राउ गरेको हो ।

मण्डललाई पक्राउ गरेर सोधपुछ गर्दा उनले एक जना स्वास्थ्यकर्मीले नै बेच्न दिएको बताएपछि ती स्वास्थ्यकर्मीलाई पनि पक्राउ गरेको धनुषा प्रहरीले जनाइएको छ । शहीदनगर नगरपालिकाका प्रमुख उदय बरबरियाका अनुसार, म्याद गुज्रेका औषधि हेर्ने बाहानामा तीन वटा पसलमा अनुगमन गर्ने क्रममा सो पसलमा बेच्न राखेका कोरोनाविरुद्ध खोप बरामद भएको हो । फेला परेकामध्ये भेरोसेलका १ भाइल तथा अस्ट्राजेनेकाको भाइल खुलेको पाइएको उनको भनाइ छ । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय यदुकोहामा राखिएको र थप अनुसन्धान भइरहेको जनाइएको छ ।

सालकको खपटासहित दुई जना पक्राउ
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले संरक्षित वन्यजन्तु सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले लिखु तामाकोशी गाँउपालिका–३ का ३८ वर्षीय सोनाम तामाङ र सोही गाउँपालिकाका ३२ वर्षीय ध्यानबहादुर तामाङलाई पक्राउ गरेको हो ।

उनीहरुलाई मन्थली एरियाबाट संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा व्यूरो तथा जिल्ला प्रहरी कार्यालय, रामेछापबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुलाई मन्थली नगरपालिका–१ देवकोटा चोकबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट २५ केजी तौल बराबरको संरक्षित वन्यजन्तु सालकको खपटा (आखेटोपहार) बरामद गरेको र घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।