थप १५११ जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ भाद्र ३१, बिहीबार १७:३४

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ५ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार १७९ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ११ हजार २०८ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १६५ र ३ हजार ९ सय ७१ जनाको एन्टीजेन परीक्षण गर्दा ३ सय ४६ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८१ हजार ९ सय ८९ पुगेको छ । तीमध्ये हालसम्म ७ लाख ४५ हजार २ सय १५ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार २ जना कोरोना संक्रमितको निधन भएको छ । पछिल्लो २४ घण्टामा आज देशभर एक हजार ६ सय ८९ जना संक्रमणमुक्र भएका छन् भने ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यस्तै, देशभर २५ हजार ७७२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये २४ हजार २२२ होम आइसोलेसनमा, एक हजार ५५० संक्रमितश संस्थागत आइसोलेसनमा, ४०७ जना आइसियुमा र १२८ जनाको भेन्टिलेटरमा राखि उपचार रहेका छन् । देशभर २२० जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मकवानपुरमा थपिए २१ जना कोरोना संक्रमित
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप २१ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ८५ जनाको पीसीआर परीक्षण गर्दा हेटौंडा उपमहानगरपालिकाका १५ जना, मकवानपुरगढी गाउँपालिकाका ४ जना, कैलाश र भीमफेदी गाउँपालिकाका एक/एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यससँगै जिल्लामा हालसम्म कोरोना संक्रमिण पुष्टि हुनेको कूल संख्या १५ हजार ७१ जना पुगेको छ ।

यस्तै, जिल्लामा पछिल्लो २४ घण्टामा थप ३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना पुष्टि भई होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा बसेका ३६ जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, पछिल्लो २४ घण्टामा होम आइसोलेशनमा बसेका ३४ जना र संस्थागत आइसोलेशनमा बसेका २ जना संक्रमणमुक्त भएका छन् । यससँगै जिल्लामा संक्रमणमुक्त हुनेको कूल संख्या १४ हजार ६ सय ६० जना पुगेको छ ।

यसैगरी, जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण निधन हुनेको कूल संख्या १ सय ६४ जना पुगेको छ । निधन हुनेमा हेटौंडाका १ सय १६ जना, थाहानगरपालिकाका ९ जना, मकवानपुरगढीका ५ जना, बागमतीका ४ जना, कैलाशका २ जना, मनहरीका १४, भीमफेदीका ७, बकैयाका ५ जना र राक्सिराङ गाउँपालिकाका २ जनाको निधन भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने कोरोना संक्रमणका कारण हालसम्म कुनै पनि व्यक्ति निधन नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । पछिल्लो २४ घण्टामा भने कुनै पनि व्यक्तिको निधन नभएको स्वास्थ्य कार्यालयले जनाएको छ ।